म्यारियटसँगको साझेदारीले नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउँछ : विनोद चौधरी

काठमाडौँ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल म्यारियट इन्टरनेसनलसँगको साझेदारीले नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै चौधरीले उक्त सहकार्यलाई नेपालको आर्थिक समृद्धि र पर्यटन विकासका लागि ऐतिहासिक उपलब्धिको रूपमा चित्रण गरे। उनले यो साझेदारी केवल व्यावसायिक सम्झौता नभई नेपालको पर्यटन क्षमताप्रतिको अन्तर्राष्ट्रिय विश्वासको बलियो सन्देश भएको बताए।

आफ्नो २८ वर्ष लामो आतिथ्य क्षेत्रको अनुभव स्मरण गर्दै चौधरीले सन् १९९८ मा नेपालमा होटल व्यवसाय विस्तार गर्ने प्रयास विभिन्न प्राविधिक कारणले सफल हुन नसकेको उल्लेख गरे। तर दुई वर्षअघि सिंगापुरमा म्यारियट नेतृत्वसँग भएको भेटवार्तापछि दीर्घकालीन सहकार्यको आधार तयार भएको उनले बताए।

विश्वभर करिब ९ हजार ९ सयभन्दा बढी होटल र १७ लाखभन्दा बढी कोठाको सञ्जाल रहेको म्यारियटसँगको सहकार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाली पर्यटन बजारकै लागि महत्वपूर्ण अवसर भएको उनको भनाइ थियो। उनले नेपालको वर्तमान राजनीतिक नेतृत्व र नयाँ पुस्ताका सांसदहरूप्रति आशा व्यक्त गर्दै सरकारको विकास र समृद्धिको लक्ष्यमा निजी क्षेत्रले पूर्ण साथ दिने प्रतिबद्धता पनि जनाए।

चौधरीका अनुसार नेपालमा म्यारियटका अधिकांश प्रमुख पहिचानका होटल भित्र्याउने लक्ष्यमा उल्लेखनीय सफलता प्राप्त भइसकेको छ। त्यस्तै, भारतमा पनि म्यारियटसँगको सहकार्य विस्तार गर्दै ५०० वटा होटल सञ्चालन गर्ने महत्वाकांक्षी योजनामा काम भइरहेको उनले जानकारी दिए। सो योजनाअन्तर्गत हरेक हप्ता एउटा नयाँ होटल थप्ने लक्ष्यका साथ विस्तार अभियान अघि बढाइएको छ।

नेपाल सरकारले सन् २०२७ लाई स्वास्थ्य तथा आरोग्य पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला म्यारियटसँगको सहकार्यले पर्यटन पूर्वाधार, सेवा गुणस्तर र समग्र पर्यटन प्रणालीलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरे।

यसैबीच, म्यारियट इन्टरनेसनल र सिजी कर्प ग्लोबलबीच नेपाल र भारतमा तीन नयाँ सुविधा सम्पन्न होटल सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताअनुसार काठमाडौँमा द रिट्ज–कार्लटन र द वेस्टिन तथा भारतको सिलिगुडीमा जेडब्लु म्यारियट सञ्चालनमा ल्याइनेछ। यी परियोजनाले नेपाल–भारत पर्यटन तथा आतिथ्य उद्योगमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *