जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश लगायतका विभिन्न जिल्लाहरूमा देखिएको आन्तरिक विवादका कारण संगठनात्मक संकटमा फसेको छ। यसैबीच महोत्तरी जिल्ला अधिवेशनमा सहमति हुन नसक्दा अनिश्चितकालका लागि स्थगित भएको छ भने धनुषामा असन्तुष्ट पक्षले पार्टी कार्यालयमै तालाबन्दी गरेका छन्।
शनिबारदेखि जलेश्वरमा सुरु भएको महोत्तरी जिल्ला अधिवेशन दोस्रो दिनसम्म आइपुग्दा नेतृत्व चयन लगायतका विषयमा देखिएको विवाद समाधान हुन सकेको छैन। विभिन्न चरणमा छलफल र सहमतिको प्रयास भए पनि दुई पक्षबीच मतभेद कायम रहेपछि अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जानकारी दिएका छन्।
उनका अनुसार जिल्लाका प्रतिनिधिहरूसँगको परामर्श तथा सम्भावित शान्ति–सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अधिवेशन रोक्ने निर्णय गरिएको हो। उक्त निर्णयमा रास्वपाका केन्द्रीय सदस्यहरू, निर्वाचन समितिका पदाधिकारी तथा जिल्लास्तरीय नेताहरूको सहमति रहेको बताइएको छ।
महोत्तरीमा विवाद समाधानको प्रयास असफल भइरहेका बेला छिमेकी जिल्ला धनुषामा पनि पार्टीभित्रको असन्तुष्टि खुला रूपमा सतहमा आएको छ। जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवमाथि एकलौटी र मनोमानी ढंगले पार्टी सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले शनिबार रातिदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।
धनुषामा यो पहिलो विवाद भने होइन। यसअघि पालिका अधिवेशनका क्रममा समेत नेतृत्व र संगठन विस्तारको विषयलाई लिएर विवाद चर्किएको थियो। केही स्थानमा कार्यकर्ताबीच धकेलाधकेल र हातहालाहालको अवस्था समेत सिर्जना भएको थियो।
पार्टीले देशभर संगठन विस्तार र संरचना निर्माण अभियानलाई तीव्रता दिइरहेका बेला मधेशका दुई जिल्लामा देखिएको यो विवादले रास्वपाको आन्तरिक व्यवस्थापन र संगठनात्मक एकतामाथि प्रश्न उठाएको छ। त्यस्तै, स्थानीय तहदेखि जिल्ला नेतृत्वसम्म देखिएको असन्तुष्टिले आगामी संगठनात्मक गतिविधि र पार्टीको राजनीतिक भविष्यमा समेत असर पर्ने आंकलन गरिएको छ।







