विराटनगर। कोसी प्रदेश सरकारले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदा पुनरावलोकन गर्ने तयारी गरेको छ। सरकारले शनिबार र आइतबारको बिदा व्यवस्थामध्ये एक दिन कटौती गर्नेबारे सरोकारवाला र सर्वसाधारणसँग सुझाव मागेको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय तथा मातहतका कार्यालयमा हप्तामा छ दिन कार्यदिन कायम गर्ने विषयमा राय मागेका हुन्।
उनले हालको दुई दिने बिदा व्यवस्था व्यवहारिक नदेखिएको उल्लेख गर्दै शनिबार मात्र बिदा कायम गर्ने वा पुरानै कार्यतालिकामा फर्कने विकल्पबारे सुझाव दिन आग्रह गरेका छन्।
मुख्यमन्त्री कार्कीका अनुसार पाँच दिन मात्र कार्यालय सञ्चालन हुँदा कार्यदिन अपुग भएको र इन्धन तथा प्रशासनिक खर्चमा उल्लेख्य बचत नभएको देखिएको छ।
संघीय सरकारको निर्णयअनुसार प्रदेश तहमा समेत शनिबार–आइतबार बिदा लागू गरिएको भए पनि सेवा प्रवाह प्रभावकारी नभएको र प्रशासनिक कार्यसम्पादनमा चुनौती देखिएको प्रदेश सरकारको निष्कर्ष छ।
सरकारले अब पुरानै कार्यतालिकामा फर्कने विषयमा गृहकार्य थालेको संकेत दिएको छ।
मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत मागेको सुझावमा अधिकांश प्रतिक्रिया आइतबारको बिदा हटाउनुपर्ने पक्षमा आएको बताइएको छ।







