काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सिंगापुरमा सम्पन्न सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो। ओमानका लागि कप्तान सुफ्यन महमुदले सर्वाधिक ३८ रन बनाए। अब्दुलजलिल खानले १६ र जुबाइर अली अकबरले २२ रन जोडे।
नेपालका लागि बलिङतर्फ करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट हात पारे भने साहब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।
९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाउँदै सहजै पूरा गर्यो। लोकेश बमले २६ बलमा ७ चौका र १ छक्कासहित अविजित ४४ रनको आक्रामक इनिङ खेले। कुशल भुर्तेलले २० र कप्तान रोहित पौडेलले २१ रनको अविजित योगदान दिए।
यो जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ। नेपालले अब सोमबार हुने हङकङ र मलेसियाबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यसअघि नै सेमिफाइनल पुग्ने चार टोली एसियाली खेलकुदका लागि छनोट भइसकेका छन्।







