गोरखा। पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नको छानबिनका क्रममा दिएका बयानपछि आफूले सबै आरोपको स्पष्ट जवाफ दिएको बताएका छन्।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले सार्वजनिक पदमा रहँदा उठ्ने प्रश्नहरूको सामना गर्नुपर्ने भएकाले छानबिन समितिमा बयान दिएको बताए।
‘बयानका क्रममा कतिपय प्रश्न कडा थिए, तर मैले सहज र स्पष्ट रूपमा जवाफ दिएको छु,’ गुरुङले भने। उनले सम्पत्तिको स्रोतबारे सोधिएको प्रश्नको प्रसंग उल्लेख गर्दै समितिलाई पनि प्रतिप्रश्न गरेको दाबी गरे। छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ र आफूले सफाइ पाउनेमा आशावादी रहेको उनले बताए।
सफाइ पाएपछि आँफू पुनः गृहमन्त्री बन्ने सम्भावनाबारे संकेत गर्दै उनले व्यंग्यात्मक रूपमा सुरुका दुई महिनासम्म मन्त्रालयमा बधाई, फोटो खिच्न र भेटघाटका लागि नआइदिन आग्रह सेमत गरे। गुरुङले आफू गृहमन्त्री हुँदा जनताबाट अभूतपूर्व साथ र सहयोग पाएको दाबी पनि गरे।
त्यसैगरी, उनले अब बन्ने जिल्ला सभापति राजधानीमा बसेर नभई जिल्लामै रहेर काम गर्नुपर्ने बताए। राजधानी केन्द्रित नेतृत्वले चुनावका बेला मात्र जनतासँग सम्पर्क गर्ने प्रवृत्ति बढ्ने उनको भनाइ थियो।







