इपानको नेतृत्व चयनमा विधानको किचलो, ‘स्वतः अध्यक्ष’ बन्ने प्रावधान लोकतान्त्रिक छैन: उप–महासचिव दुलाल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २९ औं वार्षिक साधारण सभा आगामी २९ गते हुँदैछ । साधारण सभाको मिति नजिकिँदै गर्दा संस्थाको नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमा उत्पन्न गम्भीर नीतिगत विवाद जारीनै छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा इपानका उप–महासचिव प्रकाश दुलालले हालको नेतृत्व चयन प्रक्रिया र विधान कार्यान्वयनको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै संस्थालाई थप समावेशी र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् ।

इपानमा हाल संस्था दर्ता र नवीकरणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । दुलालका अनुसार जेठ २५ गतेसम्मको समयसीमाभित्र करिब ७०० सदस्यहरूले नवीकरण गर्ने अनुमान गरिएको छ । हाल नेपालमा करिब ८५० देखि ९०० सम्म सोलार र हाइड्रोपावरका लाइसेन्स जारी भएको अवस्थामा ८० प्रतिशतभन्दा बढी प्रवद्र्धकहरू इपानमा आबद्ध हुनुले यसको गरिमा र छाता संगठनको भूमिकालाई पुष्टि गरेको दुलालको भनाइ छ ।

तीन वर्षअघि साढे ४०० को हाराहारीमा रहेका सदस्य संख्या ७०० पुग्नुलाई उनले इपानको आकर्षण र ऊर्जा क्षेत्रको विकासको रूपमा अथ्र्याएका छन् । इपानको आगामी साधारण सभा केवल औपचारिक कार्यक्रम मात्र नभई नयाँ कार्यसमिति चयन गर्ने निर्वाचनको थलो समेत हो ।

तर, कुन विधानका आधारमा निर्वाचन गर्ने भन्ने विषयमा संस्थाभित्र दुई धार स्पष्ट देखिएका छन् । २१ औं साधारण सभादेखि नै इपानको विधानमाथि प्रश्न उठ्दै आएको थियो । संस्थालाई समावेशी बनाउन र सबैको अपनत्व महसुस गराउन सल्लाहकार भानुभक्त पोखरेलको संयोजकत्वमा विधान संशोधन र पुनर्लेखन समिति गठन गरिएको थियो ।

उक्त समितिले तयार पारेको र २३ औं वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको नयाँ विधान अहिलेसम्म कार्यान्वयनमा आउन नसक्नु विवादको मुख्य जड बनेको छ । पारित विधानलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर कार्यान्वयनमा लैजानुपर्नेमा कार्यसमितिकै केही सदस्यहरूको अनिच्छाका कारण त्यो प्रक्रिया रोकिएको दुलालको आरोप छ ।

उप–महासचिव दुलालका अनुसार, २१ औं साधारण सभाअघिको विधानमा स्वतः अध्यक्षहुने प्रावधान छ, जसले गर्दा एकजना व्यक्ति अध्यक्ष बन्न कम्तीमा १२ वर्ष लाग्छ । ‘एक कार्यकाल सदस्य, त्यसपछि पदाधिकारी, अनि वरिष्ठ उपाध्यक्ष र त्यसपछि मात्र स्वतः अध्यक्ष हुने व्यवस्था छ,’दुलाल भन्छन,‘यस्तो व्यवस्थाले गर्दा एउटा क्षमतावान र जोस–जाँगर भएको व्यक्ति नेतृत्वमा पुग्न १२ वर्ष कुर्नुपर्ने अवस्था लोकतान्त्रीक भएन् । यो त लोकसेवा पास गरेर बढुवा हुँदै सचिव भएर रिटायर्ड हुने प्रक्रिया जस्तो भयो । यसले संस्थामा नयाँ र योग्य नेतृत्वको ढोका बन्द गरिदिएको छ ।’

उनले २३ औं साधारण सभाले पारित गरेको विधान अनुसार एक कार्यकाल सदस्य भएको व्यक्ति अध्यक्षमा उठ्न पाउनुपर्ने र अन्य पदाधिकारी पदहरू खुला प्रतिस्पर्धाबाट छानिनुपर्ने अडान राखेका छन् । ‘यदि हामीले इपानलाई गतिशील बनाउने हो भने युवा र क्षमतावान साथीहरूलाई सिधै पदाधिकारीमा आउने बाटो खोल्नुपर्छ । खुल्ला प्रतिस्पर्धाबाट डराउनेहरूले मात्र पुरानो विधानको संरक्षण गर्न खोजिरहेका छन्,’ उनले थपे ।

महासंघमा रूपान्तरण र प्रादेशिक संरचनाको एजेन्डा

इप्पान अब केवल जलविद्युत उत्पादकहरूको मात्र संस्था रहेन । यसमा सोलार, बायोमास, हाइड्रोजन र निजी क्षेत्रबाट प्रसारण लाइन निर्माण गर्ने कम्पनीहरू समेत थपिँदै गएका छन् । यही आवश्यकतालाई मध्यनजर गर्दै इपानलाई महासंघमा रूपान्तरण गर्ने प्रस्ताव २३ औं साधारण सभाले पारित गरिसकेको छ ।

नेपाल संघीय संरचनामा गइसकेको र सातै प्रदेशमा सम्बन्धित मन्त्रालय तथा कानुन निर्माण गर्ने निकायहरू रहेकाले इपानको प्रादेशिक संरचना अनिवार्य भइसकेको दुलालको तर्क छ । उनी भन्छन्, ‘हामीले प्रदेश कमिटीहरू बनाएर यसलाई महासंघमा लैजाने प्रतिवेदन पारित गरिसकेका छौँ । तर, अहिलेको कार्यसमितिका कतिपय साथीहरूले नयाँ विधान दर्ता नगरेर यी सबै सुधारका कार्यहरूलाई अवरुद्ध पार्नुभएको छ ।’

निर्वाचन र भावी समीकरण

निर्वाचनको प्रक्रियाका सन्दर्भमा हालका महासचिव बलराम खतिवडाले पनि विवादका बीच निर्वाचन गर्नुभन्दा कानुनी समाधान खोजेर अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । यद्यपि, केही सदस्यहरूले पुरानै विधानका आधारमा पद बाँडफाँड गरेर प्यानल घोषणा गरिसकेका छन् । दुलालले भने आफूहरूले अहिलेसम्म कुनै टिम घोषणा नगरेको र पहिला नीतिगत स्पष्टता हुनुपर्ने बताएका छन् ।

‘हाम्रो लडाइँ पदका लागि होइन, प्रक्रिया र प्रणालीका लागि हो,’ दुलालले प्रस्ट पारे । उनले वर्तमान महासचिव बलराम खतिवडाले आफ्नो एजेन्डा (विधान संशोधन र खुला नेतृत्व) लाई अगाडि बढाउने प्रतिबद्धता जनाएकाले उनलाई समर्थन गरेको खुलाए । उनले अर्का आकांक्षी उत्तम भ्लोनलाई पनि स्वतः हुने अडान छोडेर लोकतान्त्रिक प्रक्रियामा आउन आग्रह गरेका छन् ।

७०० सदस्यमध्येबाट जोसुकै योग्य व्यक्ति उम्मेदवार बन्न पाउनुपर्ने र निर्वाचनको माध्यमबाट नेतृत्व छनोट हुनुपर्नेमा उनको जोड छ । ‘यदि मैले राम्रो काम गरेको छु भने म चुनाव जित्छु, होइन भने हार्छु । तर, बाहिरबाट आउन चाहने सक्षम साथीहरूलाई निषेध गरेर सिन्डिकेट लाद्नु हुँदैन,’ दुलालले भने ।

अहिले २५ गतेपछि निर्वाचनको थप सूचना प्रकाशित हुने भनिए पनि इपानभित्रको यो विधान विवादले साधारण सभाको वातावरणलाई तरंगित बनाएको छ । ऊ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *