१०० बिलियन डलरको अर्थतन्त्र बनाउन निजी क्षेत्रको साथ अनिवार्यः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।

नेपाल उद्योग परिसंघ (सीएनआई) को २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आर्थिक वृद्धि र समृद्धिको मुख्य संवाहक निजी क्षेत्र नै भएको उल्लेख गरे।

जोखिम मोलेर लगानी गर्ने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

‘निजी क्षेत्र नै लगानी र रोजगारी सिर्जनाको प्रमुख आधार हो,’ उनले भने, ‘नीतिगत अस्थिरता र अनावश्यक नियामकीय अवरोधले लगानीलाई निरुत्साहित गर्नु हुँदैन।

त्यसलाई ध्यानमा राखेर सरकारले दीर्घकालीन सुधारलाई केन्द्रमा राखी बजेट ल्याएको छ।’

अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन र पूर्वाधार विकासमा केन्द्रित रहेको बताए।

विगतमा सुरु भए पनि विभिन्न कारणले अधुरा रहेका ठूला आयोजनालाई सम्पन्न गर्न चालु बजेटमा पूर्वाधार क्षेत्रमा उल्लेख्य स्रोत विनियोजन गरिएको उनले बताए।

आर्थिक सुधारका लागि सरकारले कानुनी तथा संस्थागत क्षेत्रमा समेत परिवर्तन अघि बढाएको उनको भनाइ छ।

तीन दिनभित्र डेढ सयभन्दा बढी कानुन संशोधन गरिएको र विभिन्न सार्वजनिक निकायको पुनर्संरचना तथा खारेजीको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

उनले अर्थतन्त्रमा देखिएको सुस्तता हटाउन र निजी क्षेत्रको लगानी विस्तारलाई प्रोत्साहन गर्न कर नीतिमा समेत सुधार गरिएको बताए।

विशेषगरी उद्योग तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी करका दर र संरचनामा परिवर्तन गरिएको उनको दाबी थियो।

ठूला लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले उच्च आयमा लाग्ने करको दर घटाइएको उल्लेख गर्दै उनले यसले नेपालमै थप लगानी आकर्षित गर्न सहयोग पुग्ने बताए।

बजेट निर्माण प्रक्रियामा विगतमा देखिने नीतिगत प्रभाव र स्वार्थ समूहको दबाबलाई नियन्त्रण गरिएको दाबी गर्दै अर्थमन्त्री वाग्लेले यसपटकको बजेट पारदर्शिता र सुधारमुखी दृष्टिकोणमा आधारित रहेको बताए।

उनले चालु आर्थिक वर्षको बजेटलाई निजी क्षेत्रमैत्री बजेटको रूपमा व्याख्या गर्दै यसले उद्योगी तथा व्यवसायीमा लगानी विस्तारको नयाँ उत्साह सिर्जना गर्ने विश्वास व्यक्त गरे।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *