काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करसँग प्रधानमन्त्रीलाई पठाएको सन्देशका विषयमा प्रहरीले करिब सात घन्टा सोधपुछ गरेको छ।
स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्री बालेन शाहलाई राजदूत नियुक्तिसम्बन्धी आवेदन दिन मिल्ने वा नमिल्नेबारे जानकारी माग्दै सन्देश पठाएका थिए। उक्त सन्देशपछि उनीसँग प्रहरीले सोधपुछ गरेको हो।
पुष्करले प्रधानमन्त्रीलाई पठाएको सन्देशमा सचिवको पाँचवर्षे कार्यकाल, आफ्नो अवकाश मिति र राजदूत पदका लागि खुलेको आवेदनबारे उल्लेख गर्दै आवेदन दिन मिल्ने वा नमिल्ने विषयमा जानकारी मागेका थिए।
प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीका आधारमा सचिव पुष्करसँग सोधपुछ गरिएको थियो। यस विषयमा औपचारिक रूपमा कुनै कसुर वा मुद्दा दर्ता गरिएको छैन।
उपराष्ट्रपति कार्यालय निकट स्रोतका अनुसार प्रहरी टोली सचिव पुष्करको निवास पुगेपछि उनी स्वयं अनुसन्धानका लागि गएका थिए। सोधपुछपछि आवश्यक कागजी प्रक्रिया पूरा गरी उनलाई छाडिएको बताइएको छ।
सचिव पुष्करको सन्देशलाई लिएर गरिएको सोधपुछपछि निजामती वृत्तमा विभिन्न प्रतिक्रिया देखिएका छन्।
केही कर्मचारीहरूले यसलाई प्रशासनिक संवाद र समन्वयसँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन् भने केहीले उच्च पदस्थ कर्मचारीसँग गरिएको व्यवहारबारे प्रश्न उठाएका छन्।
राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयमा मन्त्रीको व्यवस्था नहुने भएकाले ती कार्यालयका प्रशासनिक तथा नीतिगत विषयमा प्रधानमन्त्री कार्यालयसँग समन्वय गर्ने जिम्मेवारी सचिवको हुने व्यवस्था छ।
यस घटनाबारे प्रधानमन्त्री कार्यालय, प्रहरी र उपराष्ट्रपति कार्यालयबाट औपचारिक धारणा भने सार्वजनिक भएको छैन।






