नेपालमै सुहाउँदो सहायक प्रविधिको विकास आवश्यक : सुवास ढकाल

काठमाडौं । सूचना प्रविधि विभागका उपमहानिर्देशक सुवास ढकालले नेपालको आवश्यकता र परिवेशअनुसार सहायक प्रविधिको विकास गर्नुपर्ने बताएका छन्।

बिहीबार तेस्रो विश्व सहायक प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विदेशी प्रविधिलाई जस्ताको तस्तै प्रयोग गर्नु भन्दा नेपाली समाज, भाषा र भौतिक संरचनासँग अनुकूल हुने प्रविधि विकास गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हामीले हाम्रो समुदायसँग कम्प्याटिबल हुने गरी सहायक प्रविधि ल्याउनुपर्छ । उदाहरणका लागि, सांकेतिक भाषाको प्रयोगलाई हेर्ने हो भने नेपालमा प्रयोग हुने सांकेतिक भाषा र विदेशमा प्रयोग हुने भाषा फरक हुन्छ । त्यसैगरी भिजुअल सहायक सामग्रीको सन्दर्भमा पनि हाम्रो सडक संरचना, खाल्डाखुल्डी तथा पूर्वाधार विदेशको जस्तो छैन । त्यसैले आवश्यकताअनुसारको प्रविधि हामी आफैंले विकास गर्नुपर्ने देखिन्छ । यसका लागि सबै सरोकारवालाले अपनत्व ग्रहण गर्दै आफ्नै आवश्यकताअनुसार डिजाइन गर्नुपर्छ ।’

ढकालले सहायक प्रविधिले व्यक्तिको विद्यमान क्षमता र सीपलाई प्रतिस्थापन गर्ने होइन, थप सशक्त बनाउने माध्यम हुनुपर्ने बताए।

‘सबैभन्दा महत्वपूर्ण कुरा सहायक प्रविधिले हामीसँग भएका क्षमताहरूलाई कमजोर बनाउनु हुँदैन। सहायक प्रविधि सही प्रयोग र सही अवस्थाबाट व्यक्तिको क्षमताको पूरक बन्नुपर्छ, प्रतिस्थापन गर्ने साधन होइन,’ उनले भने।

यस्तै, कार्यक्रममा राष्ट्रिय बहिरा महासंघका अध्यक्ष सन्तोष केसीले प्रविधिमा पहुँचको अभावका कारण अपाङ्गता भएका व्यक्तिहरू अझै पनि पछाडि परेको बताए।

उनले डिजिटल युगमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिसँग जोड्न विशेष पहल आवश्यक रहेको उल्लेख गर्दै बहिरा समुदायका लागि भिडियो रिले सर्भिस (ख्च्क्) सञ्चालनको माग विगत आठ वर्षदेखि उठाउँदै आए पनि सरकारले पर्याप्त चासो नदिएको गुनासो गरे।

‘बहिरा समुदायको कुरा गर्ने हो भने सञ्चारको माध्यम पनि प्रविधि हो । हामी प्रविधिमा निकै पछाडि परेका छौ। विगत आठ वर्षदेखि भिडियो रिले सर्भिस हामी भिआएस भन्छौ त्यसको विषयमा कुरा उठाइरहेका छौ। तर अहिलेसम्म पनि सरकारले यो विषयमा चासो दिएको अवस्था छैन,’ उनले भने ।

उनले डिजिटल नेपालको अवधारणाअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिसँग जोड्ने सरकारी प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए।

‘सरकारको आफ्नो सय दिनको कार्ययोजनाभित्र पनि डिजिटल नेपालको कुराहरु समेटिएको छ त्यसमा डिजिटल नेपालको बुदामा पनि सबै अपाङ्गता भएका व्यक्तिहरु प्रविधिसँग जोडेर अगाडि लैजाने प्रतिवद्धता नेपाल सरकारले गरेको छ । आगामि दिनमा नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुको संघ संस्थाहरुसँग कसरी अगाडि जाने भन्ने विषयमा हामी सहकार्य गर्न तयार छौ,’ उनले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *