काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयगत अध्ययन तथा समन्वयका लागि ६ वटा उपसमिति गठन गरेको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति तथा खेलकुद अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको हो।
समितिकी सभापति डा. ओजश्वी शेरचन का अनुसार प्रतिनिधि सभा नियमावलीअनुसार उपसमितिहरू गठन गरिएको हो। उनले सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने बताइन्।
समिति परामर्श तथा समन्वय उपसमितिमा डा. लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन सदस्य रहेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमितिमा कामिनी कुमारी, प्रा.डा. चन्द्रमोहन यादव, डा. तोसिमा कार्की, प्रभा ढकाल, रिङगला यादव र डा. लेखजंग थापा सदस्य छन्।
त्यसैगरी शिक्षा सम्बन्धी अध्ययन उपसमितिमा गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, राधिका रम्तेल र रमेशकुमार मल्ल रहेका छन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमितिमा कुशुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा. प्रमिलाकुमारी गच्छदार र महावीर पुन सदस्य छन्। सूचना तथा सञ्चार अध्ययन उपसमितिमा खुश्बु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाललाई समेटिएको छ।
यस्तै खेलकुद अध्ययन उपसमितिमा अच्युतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया सदस्य रहेका छन्।
समितिका सचिव दशरथ धमलाका अनुसार उपसमितिहरूले सम्बन्धित क्षेत्रका विषयमा अध्ययन, छलफल तथा सुझाव प्रस्तुत गर्नेछन्।






