लिजहोल्ड सम्पत्तिदेखि फर्निचरसम्म बिक्री गर्दै कुमारी बैंक, इच्छुकलाई प्रस्ताव पेश गर्न आग्रह

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरू एकीकरण तथा समायोजन गर्ने क्रममा ती शाखाहरूमा रहेका लिजहोल्ड सम्पत्ति, फर्निचर, फिक्स्चर, उपकरण तथा अन्य कार्यालय सामग्री बिक्री गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।

बैंकले २०८३ जेठ २० गते प्रकाशित सूचनामार्फत केही शाखा कार्यालयहरू नजिकका अन्य शाखासँग गाभेर सेवा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। सोही क्रममा बन्द हुने शाखाहरूमा रहेका सम्पत्ति तथा कार्यालय सामग्रीहरू ‘जस्तो छ, जहाँ छ’ (As-is, Where-is) को आधारमा बिक्रीका लागि उपलब्ध गराइएको हो।
बैंकका अनुसार इच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य संघसंस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सिलबन्दी दरभाउपत्र वा निवेदन पेश गर्न सक्नेछन्।

दरभाउपत्र तथा आवेदन कुमारी बैंकको टंगलस्थित सामान्य प्रशासन विभाग वा सूचनामा उल्लेखित सम्बन्धित शाखा कार्यालयहरूमा बुझाउन सकिने बैंकले जनाएको छ।
प्राप्त प्रस्ताव स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकमा निहित रहने उल्लेख गर्दै बैंकले थप जानकारी आवश्यक परे आधिकारिक सम्पर्क माध्यममार्फत जानकारी लिन अनुरोध गरेको छ।

शाखा सञ्जाल समायोजनको यस प्रक्रियामार्फत कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार, फर्निचर तथा उपकरण खरिद गर्न चाहने व्यवसायिक तथा संस्थागत खरिदकर्ताका लागि अवसर सिर्जना भएको बैंकको भनाइ छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *