कराईभित्र लुकाएर ५५ लाख रुपैयाँ मलेसिया लैजाँदै गरेका नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको विदेशी तथा नेपाली मुद्रा अवैध रूपमा विदेश लैजान खोजेको आरोपमा नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थली बस्ने ५० वर्षीय कमल नारायण विश्वास पक्राउ परेका हुन्। उनी नेपाल एयरलाइन्समा विगत १६ वर्षदेखि ग्राउन्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार विश्वास जेठ १८ गते राति करिब ८:३० बजे बाटिक एयरको उडानमार्फत मलेसियाको क्वालालम्पुर जान लागेका थिए। सो क्रममा ब्यागेज स्क्रिनिङ तथा शरीर जाँच गर्दा उनले बोकेको कालो लगेजमा फल्स बटम (नक्कली तह) बनाएर विभिन्न देशका मुद्रा लुकाएर लैजान खोजिएको अवस्थामा फेला परेको हो।

बरामद गरिएको रकममा १४ हजार ८५० अमेरिकी डलर, २ हजार ९७० ओमानी रियाल, ३ हजार ५४० पाकिस्तानी रुपैयाँ, २३ हजार ६३२ मलेसियन रिङ्गिट, ७ हजार ७७० श्रीलंकन रुपैयाँ, ४१ हजार जापानी येन, १ हजार पश्चिम अफ्रिकी मिल फ्रान्क र ११ लाख नेपाली रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद रकमको नेपाली मूल्य ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बराबर रहेको र प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिले विगतमा २६ पटक विदेश यात्रा गरेको खुलेको पनि विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले अवैध मुद्रा ओसारपसारविरुद्ध निगरानी थप कडा बनाइएको बताएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *