काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टहरूमा उपभोक्ता ठगीदेखि अखाद्य सामग्रीको प्रयोगसम्मका गम्भीर अनियमितता फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडा कारबाही गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगको संयुक्त टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी रकम असुलेर उपभोक्तालाई ठगी गर्ने ४ व्यावसायिक फर्म भेटिएका हुन्। साई किरण इन्टरप्राइजेज, टी–थ्री थकाली ग्रुप प्रालि, ओरिएन्टल होटल्स प्रालि र सान इन्टरप्राइजेजलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जनही तीन लाख रुपैयाँका दरले कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा उपभोक्ता ठगीमात्र नभई खाद्य सुरक्षासम्बन्धी गम्भीर कमजोरीसमेत उजागर भएका छन्। ओरिएन्टल होटल्सको भान्सामा मापदण्डविपरीत प्रयोग भइरहेको तीन लिटर फ्राइङ तेल र सोही तेलमा तयार गरिएको दुई केजी समोसा नष्ट गरिएको छ। त्यस्तै, टी–थ्री थकाली ग्रुपको भण्डारकक्षमा म्याद गुज्रिएका खाद्य रङ तथा फ्लेभरका चार बट्टा फेला परेपछि ती सामग्रीसमेत नष्ट गरिएको विभागले जनाएको छ।
अनुगमन टोलीले होटल सोनिग र होराइजन क्याफेमा पनि सरसफाइ तथा लेबलिङसम्बन्धी कमजोरी फेला पारेको छ। दुवै स्थानबाट बटर मफिन तथा अन्य बेकरीजन्य खाद्यवस्तुको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ। होराइजन क्याफेले अनिवार्य लेबलबिनै खाद्य सामग्री बिक्री गरेको पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको छ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार अधिकांश होटलका भान्सामा डस्टबिन खुला राखिएको, खाद्यवस्तु उचित ढंगले नछोपिएको तथा सरसफाइको अवस्था सन्तोषजनक नरहेको पाइएको छ। उनले खाद्य स्वच्छता र उपभोक्ता अधिकारको बेवास्ता गर्ने व्यवसायीमाथि आगामी दिनमा अझ कडा कारबाही गरिने चेतावनी दिएकी छन्।






