नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई नेपालले भारतको कुन–कुन ठाउँको जग्गा मिचेको हो भन्ने तथ्य २४ घण्टाभित्र सार्वजनिक गर्न माग गरेको छ।

सोमबार राष्ट्रियसभा बैठकमा आकस्मिक समय लिएर सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको आधार र प्रमाण प्रस्तुत गर्न आग्रह गरेका हुन्।

‘‘ हिजो प्रधानमन्त्रीजीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर नेपालले भारतको केही जग्गा मिचेको बताउनुभयो,’ सांसद कर्णले भने, ‘सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु– २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ जानकारी गराउनुहोला ।’

तथ्य सार्वजनिक गर्न नसके जनतासँग माफी माग्नुपर्ने कांग्रेसले बताएको छ । ‘यदि तथ्य उपलब्ध गराउन सक्नु भएन भने प्रधानमन्त्रीज्यूले जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *