बालेन्द्र शाहलाई सुर्खेतका दलहरूको चुनौती – ‘प्रमाण छ भने सार्वजनिक गर, नभए माफी माग’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनी आइतबार संसद्‌मा दिएको अभिव्यक्तिप्रति सुर्खेतमा क्रियाशील राजनीतिक दलहरूले गम्भीर आपत्ति जनाएका छन।

नेपाली कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल, नेकपा एमालेका जिल्ला अध्यक्ष कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वसन्तकुमार विश्वकर्मा र नेकपा माओवादीका धर्मराज देवकोटाले संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भनाइप्रति विरोध जनाएका हुन्।

‘२०८३ जेठ १८ गते नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष सीमासम्बन्धी अत्यन्त संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको ‘भारतीय भूमि पनि नेपालले मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको सार्वभौम संसदको रोस्टमबाट कुनै प्रमाण, तथ्य वा आधिकारिक आधारबिना व्यक्त गरिएको यस्तो भनाइले नेपालको राष्ट्रिय दाबी र कूटनीतिक स्थितिलाई कमजोर बनाउने जोखिम सिर्जना गरेको छ।’

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत भूभाग देशको अविभाज्य अंग भएको विषय ऐतिहासिक दस्तावेज, सन्धि, प्रमाण र संवैधानिक व्यवस्थाका आधारमा निरन्तर उठाइरहेको उल्लेख गर्दै सुर्खेतका राजनीतिक दलहरूले संविधानमा समेटिएको अद्यावधिक राष्ट्रिय नक्सा र त्यसलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको संसद्को निर्णयले समेत नेपालको स्पष्ट राष्ट्रिय अडानलाई स्थापित गरेको बताएका छन्।

उनीहरूले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यस्तो अवस्थामा प्रधानमन्त्रीबाट नेपालको वैधानिक र ऐतिहासिक दाबीलाई नै अन्योलमा पार्ने प्रकृतिको अभिव्यक्ति आउनु राष्ट्रिय हितको दृष्टिले गम्भीर चिन्ताको विषय बनेको छ।’

उनीहरूले चुनौती दिँदै लेखेका छन्, ‘नेपालको कुनै पनि आधिकारिक नक्सा, ऐतिहासिक अभिलेख वा राज्यको आधिकारिक दस्तावेजले नेपालले भारतीय भूमि अतिक्रमण गरेको पुष्टि गर्दैन। यदि प्रधानमन्त्रीसँग त्यस्तो कुनै तथ्य, प्रमाण वा आधिकारिक आधार छ भने त्यसलाई सार्वजनिक गरियोस्। अन्यथा राष्ट्र र जनतामा उत्पन्न अन्योल अन्त्य गर्न तथा नेपाली जनताको आत्मसम्मानमा पुगेको आघातप्रति जिम्मेवारी वहन गर्दै स्पष्ट धारणासहित सार्वभौम संसदको रोस्टममा उभिएर नेपाली जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्न हामी जोडदार माग गर्दछौँ।’

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *