काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने स्वास्थ्य समस्या गम्भीर बन्दै गएको छ। चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक लागेर १३ जना पर्यटकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमध्ये ४ जना नेपाली र ९ जना विदेशी पर्यटक रहेका छन्। अधिकांश पर्यटक मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुगेका थिए। उच्च उचाइको असर देखिएपछि उनीहरूलाई उपचारका लागि जोमसोम अस्पताल लगिएको भए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार समथर भूभागबाट छोटो समयमै तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा पुग्दा शरीरले वातावरणसँग पर्याप्त रूपमा अनुकूलन गर्न नसक्दा लेक लाग्ने जोखिम बढ्छ। विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी तथा शारीरिक रूपमा कमजोर व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको छ।
पछिल्ला वर्षहरूमा सडक सञ्जाल विस्तार भएसँगै धेरै पर्यटक एकै दिनमा मुक्तिनाथ पुग्ने गरेका छन्। यसले यात्रा सहज बनाए पनि शरीरलाई उचाइसँग अभ्यस्त हुने पर्याप्त समय नदिँदा स्वास्थ्य जोखिम बढाएको पर्यटन व्यवसायीहरू बताउँछन्।
स्वास्थ्यकर्मीहरूले लेक लाग्ने जोखिम कम गर्न क्रमिक रूपमा उचाइ बढाउँदै यात्रा गर्न, पर्याप्त आराम गर्न, प्रशस्त पानी पिउन तथा स्वास्थ्यमा असहजता देखिए तत्काल चिकित्सकीय सहायता लिन सुझाव दिएका छन्।
लेक लाग्ने घटनालाई न्यूनीकरण गर्न प्रदेश जनस्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), स्थानीय तह तथा सुरक्षा निकायले संयुक्त रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। घाँसादेखि मुक्तिनाथसम्म चेतनामूलक साइनबोर्ड राखिएका छन् भने पर्यटकलाई सूचना सामग्री वितरण गर्ने कार्य पनि भइरहेको छ।
यस्तै, मुक्तिक्षेत्रका होटलहरूमा पोर्टेबल अक्सिजन सिलिन्डर तथा प्राथमिक उपचार सामग्रीको व्यवस्था गरिएको छ। मुक्तिनाथ मन्दिर परिसरमा सञ्चालित हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमार्फत आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ।






