पोलिसी सरेण्डरमार्फत बाहिरियो साढे १० अर्ब रुपैयाँ, रिन्यु नभएको बीमालेख १२ लाखमाथि

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा जीवन बीमा कम्पनीहरूबाट पोलिसी सरेण्डरमार्फत ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशत कम भए पनि हजारौँ बीमितले बीचमै बीमा योजना त्याग्ने क्रम भने रोकिएको छैन। । गत आवको सोही अवधिमा जीवन बिमा कम्पनीबाट पोलिसी सरेन्डरमार्फत १२ अर्ब २७ करोड २३ लाख  बाहिरिएको थियो।

सरेण्डर भएका पोलिसीको संख्या पनि उल्लेख्य रूपमा घटेको छ। गत आवको वैशाख मसान्तसम्म ८८ हजार ६३५ वटा पोलिसी त्याग गरिएकोमा चालु आवको सोही अवधिमा यस्तो संख्या ७६ हजार ४७७ मा झरेको छ। यो १३.७२ प्रतिशतको कमी हो।

पछिल्ला वर्षहरूमा जीवन बीमा कम्पनीहरू तथा नेपाल बीमा प्राधिकरणले बीमा सचेतना बढाउने, दीर्घकालीन बचतको महत्वबारे जानकारी दिने तथा पोलिसी सरेण्डर नगर्न प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्दै आएका छन्। त्यसको प्रभावस्वरूप सरेण्डर दरमा क्रमिक सुधार देखिएको मानिएको छ।

तर, सरेण्डर दर घटे पनि जीवन बीमा कम्पनीहरूको अर्को प्रमुख चुनौती भने कायम छ। बीमालेख नवीकरण नगर्ने प्रवृत्तिका कारण व्यतित (लाप्स) बीमालेखको रकम बढिरहेको छ।

प्राधिकरणका अनुसार वैशाख मसान्तसम्म नवीकरण नभएका बीमालेखको कुल रकम ३९ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ पुगेको छ। यो गत आवको सोही अवधिको ३६ अर्ब ८६ करोड १० लाख रुपैयाँको तुलनामा ६.८३ प्रतिशत बढी हो।

यद्यपि, नवीकरण नभएका पोलिसीको संख्या भने सामान्य रूपमा घटेको छ। चालु आवको वैशाखसम्म १२ लाख २४ हजार ४६५ वटा बीमालेख नवीकरण हुन सकेका छैनन्। गत आवको सोही अवधिमा यस्तो संख्या १२ लाख ५४ हजार ४७८ थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *