काठमाडौं। सरकारले विद्युतीय सवारी साधन (ईभी) मा अबदेखि २० प्रतिशत फ्ल्याट दरमा भन्सार दर कायम गरेको छ।
विगतमा किलोवाट क्षमताको आधारमा फरक फरक भन्सार दर लाग्दै आएकोमा आगामी दिनमा २० प्रतिशत फ्ल्याट दरमा भन्सार लाग्ने भएको हो।
आर्थिक विद्येयक अनुसार भन्सार महसुललाई २० प्रतिशत कायम गरी फ्ल्याट बनाइए पनि ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ करहरू थपिएका छन्।
जसका कारण विगतको तुलनामा गाडीहरूको मूल्यमा भारी वृद्धि हुने देखिएको छ।
आर्थिक विधेयकअनुसार २० लाख रुपैयाँसम्म मूल्य पर्ने ईभी गाडीहरुमा २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने भएको छ।
अब २० लाख रुपैयाँसम्मका ईभीमा भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल करभार ४०.५ प्रतिशत हुनेछ। तर, २० लाखदेखि ३० लाखसम्मको स्लाब भने आर्थिक विधेयकमा राखिएको छैन।
त्यस्तै, ३० लाखदेखि ४० लाख रुपैयाँ मूल्यको गाडीमा २० प्रतिशत भन्सार १५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने भएको छ।
अब ३० देखि ४० लाख मूल्यका गाडीमा भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल करभार ५३ प्रतिशत हुनेछ।
नयाँ कर नीतिअनुसार ४० लाखदेखि ५० लाख रुपैयाँसम्म मूल्यका गाडीहरुमा २० प्रतिशत भन्सार ७० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने छ।
४० देखि ५० लाख मूल्यका ईभीमा अब भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल करभार १०८ प्रतिशत हुनेछ।
यसैगरी ५० लाख रुपैयाँभन्दा माथि मूल्य पर्ने गाडीहरुमा २० प्रतिशत भन्सार ११० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्नेछ।
अब भने ५० लाखदेखि माथिका गाडीमा भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल करभार १४८ प्रतिशतसम्म हुनेछ।






