काठमाडौँ । अनुमति नलिई शैक्षिक परामर्श संस्था सञ्चालन गरेको अभियोगमा पक्राउ परेका ३१ जनामध्ये दुई जना सञ्चालकलाई अदालतले कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार बुधबार गुल्मी तम्घासका रेमलाल मरासिनी र रामेश्वर भारतीलाई जनही १२ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार मरासिनी बालाजुस्थित ‘छिन्गु कोरियन भाषा’ तथा भारती माछापोखरीमा सञ्चालित ‘कञ्चनजंघा ल्याङ्वेज इन्स्टिच्युट’का सञ्चालक हुन् । अन्य कन्सल्टेन्सी सञ्चालकमध्ये केहीलाई साधारण तारेखमा रिहा गरिएको छ भने केही धरौटीमा छुटेका छन् ।
वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको कागजात तयारी तथा भिसा प्रक्रियामा सहजीकरण गर्ने नाममा कानुनविपरीत गतिविधि भइरहेको सूचनापछि प्रहरीले विभिन्न शैक्षिक परामर्श संस्थामा छापा मारेको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उपत्यकाका ६८ वटा कन्सल्टेन्सीमा अनुगमन तथा छापा अभियान सञ्चालन गरेको थियो । तीमध्ये ३१ वटा संस्थाका सञ्चालकविरुद्ध शिक्षा ऐन विपरीत गतिविधि गरेको आरोपमा मुद्दा दर्ता गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार बाँकी ३७ कन्सल्टेन्सीमाथिको अनुसन्धान प्रक्रिया अझै जारी छ । प्रारम्भिक अनुसन्धानपछि केही सञ्चालकलाई हाजिर जमानीमा छाडिएको भए पनि थप प्रमाण फेला परे कानुनी कारबाही अघि बढ्न सक्ने जनाइएको छ ।






