काठमाडौँ । नेपालमा जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरूको शाखा विस्तारसँगै बीमा क्षेत्रको पहुँच र कारोबार दुवै बढ्दै गएको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर बीमा कम्पनीका शाखा संख्या २ हजार ९ सय ९९ पुगेको छ र सोहि अनुपातमा व्यापार पनि बढ्दै गएको देखिएको हो।
तथ्यांकअनुसार फागुनसम्म जीवन बीमाका १ हजार ७ सय ७४, निर्जीवन बीमाका १ हजार १६ तथा लघु बीमाका २ सय ९ शाखा सञ्चालनमा रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ हजार ९ सय ९२ थियो ।
नेपाल बीमा प्राधिकरणका अनुसार हाल नेपालमा जीवन र निर्जीवन गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये अधिकांश कम्पनी स्वदेशी लगानीका रहेका छन् ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित म्यादी जीवन बीमाको दायरा विस्तार भएसँगै देशको कुल जनसंख्याको ४९.९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत असारसम्म यस्तो पहुँच ४८.३ प्रतिशतमा सीमित थियो ।
पछिल्लो तथ्यांकअनुसार बीमा व्यवसायको आकार पनि उल्लेखनीय रूपमा बढेको छ । फागुनसम्म जीवन बीमाबाट १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ र निर्जीवन बीमाबाट ३२ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । यससँगै कुल बीमा शुल्क १६.१ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक सर्वेक्षणले सक्रिय बीमालेखको संख्या पनि उच्च रहेको देखाएको छ । जीवन बीमातर्फ १ करोड ६२ लाखभन्दा बढी तथा निर्जीवन बीमातर्फ २१ लाखभन्दा बढी सक्रिय बीमा रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ । त्यस्तै,
दाबी भुक्तानीतर्फ जीवन र निर्जीवन बीमामा कुल ४४ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । जसमध्ये जीवन बीमामा १ लाख २५ हजारभन्दा बढी दाबीबापत २६ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गरिएको छ भने निर्जीवन बीमातर्फ ९४ हजारभन्दा बढी दाबीबापत १७ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
बीमा क्षेत्रले रोजगारी सिर्जनामा पनि उल्लेखनीय योगदान पु¥याएको सर्वेक्षणले देखाएको छ । आर्थिक सर्वेक्षणअनुसार जीवन तथा लघु जीवन बीमातर्फ मात्रै १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ४ लाखभन्दा बढी अभिकर्ता अप्रत्यक्ष रूपमा बीमा व्यवसायमा संलग्न रहेका छन् । साथै १ हजार २ सयभन्दा बढी सर्भेयर तथा १६ पुनर्बीमा अभिकर्ताले इजाजत प्राप्त गरी काम गरिरहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।






