रास्वपा सांसद हरि ढकालको फेसबुक स्टाटस : युद्ध जारी छ, कथा अहिले नलेख्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल ले मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै महाभारतको दृष्टान्तमार्फत आक्रोश व्यक्त गरेका छन् ।
बुधबार साँझ फेसबुकमार्फत उनले आयोगको प्रतिवेदनलाई ‘युद्धको कथा’सँग तुलना गरेका हुन् ।

बुधबार राष्ट्रिय मानवअधिकार आयोग ले सार्वजनिक गरेको प्रतिवेदनमा रवि लामिछाने लाई जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भगाउन भूमिका खेलेको तथा आन्दोलनलाई हिंसात्मक बनाउन संलग्न रहेको आरोप लगाइएको थियो । आयोगले थप अनुसन्धान गर्न सिफारिस गरेपछि सांसद ढकालले अप्रत्यक्ष रूपमा उक्त प्रतिवेदनलाई लक्षित गर्दै कटाक्ष गरेका हुन् ।

ढकालले फेसबुक स्टाटसमा लेखेका छन्, ‘युद्ध हुँदाहुँदै लेखिएको होइन महाभारत, युद्ध सकिएको धेरैपछि लेखिएको हो । युद्ध चलिरहेको छ भने कथा लेख्ने हतार नगर्नुहोस् । युद्ध सकिएपछि ढुक्कसँग लेखौँला ।’

उनले युद्धकै बीचमा सत्यलाई तोडमोड गरेर लेखिएका कथाहरू अस्थायी हुने दाबी गर्दै लेखेका छन्, ‘युद्ध नसकिँदै कथा लेख्न खोज्नेहरूको कथा पानीको फोका जस्तै अस्थायी हुन्छ । युद्ध जारी छ, अझै केही समय चलिरहन्छ ।’

सांसद ढकालले महाभारतको प्रसंग जोड्दै अभिमन्युको बलिदानपछि युद्ध थप भड्किएको उल्लेख गरेका छन् । उनले सम्बन्धित निकाय र टिप्पणीकर्तालाई तटस्थ रहन आग्रह गर्दै ‘बर्बरिकले देखे जस्तै वा सञ्जयले देखे जस्तै तटस्थ भावले युद्ध हेर्नुहोला’ भन्ने टिप्पणी गरेका छन् ।

आयोगको प्रतिवेदनले आफूहरूलाई दोषी करार गर्न खोजेको संकेत गर्दै उनले प्रतिवेदनको विश्वसनीयतामाथि समेत प्रश्न उठाएका छन् । यद्यपि, राष्ट्रिय मानवअधिकार आयोग ले भने कानुनबमोजिम नै अनुसन्धान र सिफारिस प्रक्रिया अघि बढाइएको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *