काठमाडौं । सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक छेउछाउमा निर्माण गरिएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।
डिभिजन कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडक सीमा मिचेर व्यक्ति तथा संस्थाले निर्माण गरेका घरटहरा, पर्खाललगायत संरचना हटाउन आग्रह गरेको हो ।
कार्यालयका अनुसार सडक सीमा अतिक्रमण हुँदा सवारी आवागमनमा समस्या हुनुका साथै सडक सुरक्षामा समेत गम्भीर असर परेको छ । त्यसैले सूचना जारी भएको मितिले १५ दिनभित्र अतिक्रमित संरचना हटाउन अनुरोध गरिएको छ ।
सूचनाको बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने तथा संरचना हटाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी पनि कार्यालयले दिएको छ ।
कार्यालयले पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोलादेखि शिवखोला सडकखण्ड, सहिदमार्गको कोइलावास–लमही–घोराही सडकखण्ड, राप्ती राजमार्गको अमेलिया–तुलसीपुर–सितलपाटी–खौलापास सडकखण्ड, हुलाकी राजमार्गअन्तर्गत गढवा–राजपुर सडक, मदन भण्डारी राजमार्गको शीतलपाटी–खलङ्गा–बालुवा सङ्ग्रही सडकखण्ड, मुर्कुटी–घोराही–तुलसीपुर–काल्चे सडकखण्ड, भालुबाङ–गनाहा सडकखण्ड तथा रारा राजमार्गअन्तर्गत थारमारे–चौरजहारी सडकखण्डमा अतिक्रमण भएको उल्लेख गरेको छ ।






