काठमाडौं । नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। केपी शर्मा ओली निवास बालकोटमा बिहान साढे ११ बजे बस्ने बैठकले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ।
गत सोमबार अध्यक्ष ओलीले सचिवालयमा नेताहरूको कार्यविभाजन प्रस्ताव पेश गरेका थिए।
बैठकमा त्यसबारे छलफल गरी अन्तिम रूप दिने तयारी रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अध्यक्ष ओली निकटका नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र योगेश भट्टराई लगायतले नेतृत्व परिवर्तन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्।
यसअघि अध्यक्ष ओलीले आफ्नो राजीनामा माग्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए।
एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारी का अनुसार अध्यक्षको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेरबारे छलफल गरी निर्णय भएपछि अन्तरपार्टी निर्देशनमार्फत कार्यान्वयन गरिनेछ।
प्रस्तावअनुसार सचिव भानुभक्त ढकाल लाई संगठन विभाग, शेरबहादुर तामाङ लाई स्कुल विभाग, विशाल भट्टराई लाई जनसंगठन तथा डा. सूर्य पाठक लाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने तयारी गरिएको छ।
यसैगरी उपाध्यक्ष र उपमहासचिवहरूलाई विभागीय समन्वय र अनुगमनको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
अधिकांश केन्द्रीय सदस्यलाई भने ‘मिसन स्थानीय चुनाव’ अन्तर्गत विभिन्न क्षेत्रको जिम्मेवारी दिने तयारी एमालेले गरेको छ।






