काठमाडौं। उपभोक्ता अदालतले उडानमा एक नेपाली यात्रुलाई क्याबिन क्रुको असावधानीले तातो कफी पोखिएर जलन भएको घटनामा दुई करोड ६२ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला सुनाएको छ।
कतार एयरवेजमा यात्रा गरेकी ललितपुरकी प्रिती थापालाई तातो कफीले पोलेको घटनामा दायर मुद्दामा बिहीबार उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।
थापाले कुल २० लाख अमेरिकी डलर अर्थात् तत्कालीन समयको विनिमय दरअनुसार २७ करोड ४२ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन्।
यस मुद्दामा फैसला सुनाउँदै काठमाडौंस्थित उपभोक्ता अदालतले मोन्ट्रियल महासन्धिको धारा २१ को १ को दायित्वअनुसार दुई करोड ४२ लाख रुपैयाँ र उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ गरी क्षतिपूर्ति पीडितले पाउने गरी फैसला सुनाएको हो।
उपचार खर्च र मानसिक क्षतिबापत यो क्षतिपूर्ति भराउने निर्णय अदालतले गरेको हो।
उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले यो फैसला सुनाएको हो।






