सुलभ अग्रवालको अवस्थामा गम्भीर समस्या, पाटन अस्पतालको क्रिटिकल केयरमा उपचार हुँदै

काठमाडौं । झन्डै डेढ महिनादेखि प्रहरी हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवालको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। अवस्था गम्भीर बनेपछि उनलाई तीन दिनदेखि पाटन अस्पतालको क्रिटिकल केयर युनिटमा राखी उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

परिवारनिकट स्रोतका अनुसार फोक्सोको क्यान्सरबाट समेत पीडित अग्रवाल पछिल्ला दिनमा उच्च रक्तचाप, श्वासप्रश्वासमा समस्या तथा मानसिक तनावबाट समेत गुज्रिरहेका छन्। स्वास्थ्यमा अचानक जटिलता देखिएपछि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका गर्ने क्रममा चैत २२ गते नियन्त्रणमा लिइएका अग्रवाल त्यस समयदेखि हिरासतमै छन्। लामो समयको हिरासत, निरन्तरको अनुसन्धान र स्वास्थ्य अवस्थाले उनलाई शारीरिक तथा मानसिक रूपमा अत्यन्त कमजोर बनाएको
परिवारको गुनासो छ।

अनुसन्धानकै क्रममा उनका पिता शंकरलाल अग्रवाललाई समेत नियन्त्रणमा लिइएको थियो। बयानपछि उनी हाजिरी जमानीमा रिहा भएका छन्।

अग्रवालको स्वस्थ अवस्थामा गम्भीर समस्या देखिएपछि परिवारले भने- गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका व्यक्तिमाथि सरकारले मानवीय दृष्टिकोण अपनाउनुपर्ने माग गरेको छ।

“उहाँ लामो समयदेखि क्यान्सरको उपचारमा हुनुहुन्छ, लामोसमयको हिरासत बसाईले उहाँको अवस्था झन् जटिल बनेको छ,” अग्रवाल परिवारका एक सदस्यले भने, “यो बेला त उपचार र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने हो।”

शंकर ग्रुपअन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्ष समेत रहेका अग्रवालमाथि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *