विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै विपक्षी दलले अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधनमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि निरन्तर संसद्मा प्रधानमन्त्रीको खोजी भइराखेको स्मरण गरे । आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसद्मा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भनेर प्रश्न उठाए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *