काठमाडौं । दीपक खड्का विरुद्धको अनुसन्धानमा एकपछि अर्को नयाँ तथ्य खुल्दै गएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग हुँदै अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले समेत उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा विस्तृत छानबिन अघि बढाएका छन्।
अनुसन्धान स्रोतका अनुसार खड्कासँग एक अर्ब रुपैयाँभन्दा बढी बराबरको सम्पत्ति फेला परेको छ । तर, त्यसको ठूलो हिस्सा वैधानिक आम्दानीसँग मेल नखाएपछि आयोगले उनको सम्पत्ति विवरणको सूक्ष्म विश्लेषण थालेको छ । सोहिअनुसार बयान लिने क्रमसमेत सुरु भइसकेको विभाग स्रोतले जनाएको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार व्यवसायिक आय, कर विवरण र वास्तविक सम्पत्तिबीच उल्लेखनीय असमानता देखिएपछि मुद्दा दर्ताको तयारीसमेत भइरहेको छ ।
अख्तियारले जेठभित्रै विशेष अदालतमा मुद्दा दायर गर्ने गरी अनुसन्धान तीव्र बनाएको स्रोत बताउँछ । खड्काको बुढानीलकण्ठस्थित निवासमा जेन–जी आन्दोलनका क्रममा ठूलो परिमाणमा नगद भेटिएको विवरण सार्वजनिक भएपछि उनी सरकारी निगरानीमा परेका थिए । त्यसयता सम्पत्ति शुद्धीकरणदेखि कर छली र प्रभावको दुरुपयोगसम्मका विषयमा विभिन्न निकायले खड्कामाथि अनुसन्धान गरिरहेका छन् ।
गत १५ चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । तर, पक्राउ प्रक्रिया र म्याद थप कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतले ३ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिटमा थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनी छुटे पनि अनुसन्धान भने रोकिएको छैन । बरु, त्यसपछि अख्तियारले भ्रष्टाचार निवारण ऐनअन्तर्गत अनुसन्धानलाई थप प्राथमिकता दिएको बुझिएको छ ।
संखुवासभाका खड्का व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । जलविद्युत्, होटल र निर्माण क्षेत्रसम्म फैलिएको उनको लगानीमाथि अहिले सरकारी निकायले विवरण संकलन गरिरहेका छन् । लाजिम्पाटस्थित नेपाल स्काउट को जग्गा लिज प्रकरणमा समेत उनी विवादमा तानिएका थिए ।
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार खड्काले देखाएको वैधानिक आयभन्दा आफन्त, सहयोगी र निकट व्यक्तिका नाममा रहेको सम्पत्ति अनुपातहीन देखिएको छ । त्यसैले आयोगले बेनामी लगानी, अप्रत्यक्ष स्वामित्व र प्रभावको प्रयोगमार्फत सम्पत्ति व्यवस्थापन गरिएको हुन सक्ने कोणबाट समेत अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै अख्तियार स्रोतले एक जापानी नागरिकसँग सम्बन्धित आर्थिक विवादसमेत अनुसन्धानको दायरामा आएको समेत जनाएको छ । ती नागरिकबाट ठूलो रकम लिएर फिर्ता नगरेको तथा प्रभाव प्रयोग गरी उजुरीहरू दबाइएको आरोपसमेत छानबिनमा रहेको दाबी स्रोतको छ । यद्यपि यस विषयमा आयोगले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
यता, खड्कासँगै शेरबहादुर देउवा र उनकी पत्नी आरजुमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको स्रोतहरूको दाबी छ । उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको चर्चा भए पनि सम्बन्धित निकायहरूले औपचारिक पुष्टि गरेका छैनन् ।
राजनीतिक पहुँच, व्यवसायिक विस्तार र अकस्मात् बढेको सम्पत्तिबीचको सम्बन्धमाथि राज्यका निकायहरूले एकैसाथ प्रश्न उठाउन थालेपछि खड्कामाथिको अनुसन्धानलाई व्यक्तिगत मुद्दा मात्र नरही राजनीतिक–आर्थिक शक्ति संरचनाकै परीक्षणका रूपमा हेरिएको छ ।






