सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी डोकाका काफल बेच्ने महिला धमिला चौलागाईलाई नगरप्रमुख मोहनमाया ढकालले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएकी छन् ।
बुधबार नगरप्रमुखको कार्यकक्षमा बोलाएर ढकालले उनलाई राहत तथा प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ प्रदान गरेकी हुन् ।
मंगलबार साँझ वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्कमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले धमिलाको काफलको डालो जबरजस्ती घोप्ट्याइदिएका थिए ।
सामान जोगाउन खोज्दा पनि प्रहरीले जबरजस्ती डालो पल्टाउँदा काफल भुइँमा छरपस्ट भएको भिडियो भाइरल भएको थियो ।
भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएपछि नगरपालिकाले दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही र पीडित महिलालाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
कालीकोट घर भएकी धमिला हाल वीरेन्द्रनगर–३ मा बस्दै आएकी छन् । उनको करिब ७–८ सय रुपैयाँ बराबरको काफल नोक्सान भएको थियो ।
नगरप्रमुख ढकालले क्षतिको मूल्यसहित थप सहयोगस्वरूप १० हजार दिएको बताइन् ।
नगरप्रमुखले धमिलालाई सुरक्षित ठाउँमा बसेर व्यापार गर्न आग्रह गर्दै आगामी दिनमा समस्या भए सहयोग गर्ने आश्वासन पनि दिएकी छन् ।
क्षतिपूर्ति पाएपछि धमिला खुसी हुँदै फर्किएकी थिइन् भने उनको बुधबारको सबै काफल जनप्रतिनिधि र कर्मचारीले खरिद गरिदिएका थिए ।







