काठमाडौं । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक परामर्श क्षेत्रमा संस्थामाथि झुटा आरोप लगाएर बदनाम गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।

बुधबार आयोजित ‘शैक्षिक परामर्श क्षेत्रको नियमन र सुरक्षा : कानुनी प्रक्रिया र संस्थागत सहकार्य’ कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले केही विद्यार्थीले सामाजिक सञ्जाल र मिडियाको प्रयोग गरेर परामर्श संस्थामाथि अनावश्यक दबाब सिर्जना गर्ने गरेको गुनासो गरे । उनले भने, ‘हामीले धेरै विद्यार्थीका उजुरी मात्रै सुनिरहेका छौं। तर कन्सल्टेन्सीहरूको उजुरी विद्यार्थीविरुद्ध कसरी गर्ने भन्ने प्रश्न उठेको छ । कुनै दोष नभए पनि मिडिया र युट्युबरको धम्की दिएर संस्थालाई दबाबमा पार्ने काम भइरहेको छ । यस्तो विषयमा प्रहरीसँग सहकार्य गरेर उचित सुनुवाइको व्यवस्था हुनुपर्छ ।’

उनले दुई दशकदेखि इमान्दारितापूर्वक काम गर्दै आएका कन्सल्टेन्सीहरू विद्यार्थीको धम्कीका कारण नगरेको गल्तीसमेत स्वीकार्न बाध्य हुने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘२०औँ वर्षदेखि एउटा इन्डस्ट्रीमा स्ट्रङ होल्ड बनाएर इज्जतका साथ काम गरिरहेका अर्गनाइजेशनहरू बाध्य भएर नगरेको कामसमेत स्वीकारेर चुप लाग्नुपर्ने अवस्था आएको छ । अब यस्तो विषयमा हामीले प्रहरीमा कहाँ उजुरी गर्ने ? ती विद्यार्थीविरुद्ध उजुरी गर्दा पनि भोलिका दिनमा उनीहरूले मिडियाको साथ लिएर नगरेको गल्तीसमेत शिक्षकमाथि थोपर्ने काम भइरहेको छ । त्यसैले हामीलाई उजुरी दिनुपर्ने बाध्यता सिर्जना भएको छ । आगामी दिनमा यस्ता उजुरीहरूको सही ठाउँमा प्रहरीसमक्ष सुनुवाइ होस्, र प्रहरीसँग नजिकबाट सहकार्य गरेर काम गर्न पाऔँ ।’

अध्यक्ष पौडेलले यस्ता घटनाविरुद्ध कन्सल्टेन्सीहरूले कहाँ र कसरी उजुरी गर्ने भन्ने स्पष्ट संयन्त्र आवश्यक रहेको उल्लेख गरे । उनले आगामी दिनमा प्रहरीसँग नजिकबाट सहकार्य गरेर यस्ता उजुरीको सुनुवाइ हुनुपर्नेमा जोड दिए । उनले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन कानुनी प्रक्रिया प्रभावकारी बनाइनुपर्ने धारणा पनि राखे ।