काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी आवेदन विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयले बुधबार जारी गरेको सूचनाअनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन प्राप्त भएका छन्।
प्राप्त आवेदनमध्ये त्रिभुवन विश्वविद्यालय मा सबैभन्दा बढी ५० वटा आवेदन परेको छ। यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय मा समान ३८/३८ वटा आवेदन दर्ता भएका छन्।
त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा राजर्षि जनक विश्वविद्यालयमा २७ वटा आवेदन परेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आवेदन प्रक्रिया सम्पन्न भएसँगै अब छनोट तथा सिफारिस प्रक्रियालाई अगाडि बढाइनेछ।






