काठमाडाैं। नेपाल वायुसेवा निगमले विदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुईजना विमानचालक (पाइलट) सहित पाँच कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ।
निगमको सञ्चालक समितिको निर्णयअनुसार मानव संशाधन विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारीहरूलाई आफ्नो बचाउका लागि सफाई पेश गर्न अन्तिम मौका दिएको हो।
निगमका अनुसार कारबाहीको प्रक्रियामा पर्नेहरूमा क्याप्टेन सञ्जय बाँदे श्रेष्ठ, को-पाइलट विवेक प्याकुरेल, अटोमोवाइल इन्जिनियरद्वय सरोज कार्की र विदित देवकोटा तथा प्राविधिक अधिकृत उमेश कुमार साह रहेका छन्।
यीमध्ये क्याप्टेन श्रेष्ठ २०७६ सालदेखि नै कार्यालयमा अनुपस्थित रहेको निगमको रेकर्डमा देखिएको सूचनामा उल्लेख छ ।
नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को विनियम ९३ (१) (क) मा विदा स्वीकृत नगराई लगातार ३० दिनभन्दा बढी समयसम्म कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई भविष्यमा निगमको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने प्रावधान छ। सोही कानुनी आधारमा टेकेर निगमले उनीहरूलाई बर्खास्त गर्नुअघि स्पष्टीकरण सोधेको हो।






