वाणिज्य बैंकहरुको शेयर धितो कर्जा ३४.५५ प्रतिशतले बढ्यो,कुन बैंकले कति दिए ?

काठमाडौं। अन्य क्षेत्रमा कर्जाको माग सुस्ताइरहेका बेला वाणिज्य बैंकहरूले भने शेयर बजारतर्फ कर्जा प्रवाह तीव्र रूपमा बढाएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब ३६ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब १ अर्ब ६० करोड ७० लाख रुपैयाँ रहेको थियो। यस आधारमा समीक्षा अवधिमा शेयर लोन ३४.५५ प्रतिशतले बढेको देखिन्छ।

तथ्यांकअनुसार सबैभन्दा धेरै शेयर लोन प्रवाह गर्ने बैंकमा नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले चालु आर्थिक वर्षको चैतसम्म १७ अर्ब ४० करोड ८ लाख रुपैयाँ शेयर लोन दिएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो कर्जा १४ अर्ब ५० करोड ७१ लाख रुपैयाँ थियो। यसरी नबिलको शेयर लोन १९.९५ प्रतिशतले वृद्धि भएको छ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले समीक्षा अवधिसम्म १३ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। अघिल्लो वर्ष चैतसम्म बैंकले ११ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ कर्जा दिएको थियो। यस अवधिमा बैंकको शेयर लोन १७.८५ प्रतिशतले बढेको छ।

धेरै शेयर लोन दिने कुमारी तेस्रो बैंक हो। यो बैंकले चालु वर्षको चैतसम्म १० अर्ब ९३ करोड रुपैयाँ शेयर लोन दिएको छ। अघिल्लो वर्ष चैतसम्ममा बैंकले ९ अर्ब १३ करोड ९४ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको शेयर लोन १९.५९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा कम शेयर लोन दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने नेपाल बैंकको १५.०९ प्रतिशत, सिटिजन्स बैंकको १४.०२ प्रतिशत र नेपाल एसबीआईको ८.६५ प्रतिशत घटेको छ। कर्जा प्रवाहको वृद्धिदर १७९.७१ प्रतिशतका साथ कृषि विकास बैंक अगाडि रहेको छ।

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *