मूल्यमा पारदर्शिता कायम गर्न बजार अनुगमन

पर्वत । सरकारले सञ्चालन गरिरहेको ‘मूल्यमा पारदर्शिता सप्ताह’ अन्तर्गत शनिबार पर्वतका विभिन्न स्थानीय तहमा बजार अनुगमन गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय र कृषि विकास कार्यालय को संयुक्त आयोजनामा जलजला गाउँपालिका, मोदी गाउँपालिका र कुश्मा नगरपालिका क्षेत्रमा बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा कृषिजन्य वस्तु, मासुजन्य सामग्री, बीउबिजन, विषादी तथा पशु औषधिको गुणस्तर, मूल्यसूची र सरसफाइको अवस्थाबारे निरीक्षण गरिएको कार्यालयले जनाएको छ ।

भेटेरिनरी अस्पतालका प्रमुख सुरेशकुमार श्रेष्ठ का अनुसार तीनवटै पालिकामा ९ वटा मासु पसल, एउटा माछा पसल, पाँच वटा भेटेरिनरी सेन्टर, तीन वटा डेरी उद्योग तथा तीन वटा बीउ भण्डार र एग्रो सेन्टर गरी २० वटा व्यवसायमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको, सरसफाइमा ध्यान नदिइएको, व्यवसाय नवीकरण नगरिएको तथा विषादी र अन्य सामग्री एकै ठाउँमा राखिएको पाइएको जनाइएको छ । यस्तै, मासु पसलमा विभिन्न प्रकारका मासु एउटै फ्रिजमा राखिएको तथा विषादी विक्रेताले जोखिम संकेत चिह्न प्रयोग नगरेको समेत भेटिएको छ ।

अनुगमन टोलीले मासु पसलमा सेतो टायल प्रयोग गर्न, दाउ र अचानो छुट्टाछुट्टै राख्न तथा हात धुने बेसिनसहितको व्यवस्था गर्न सुझाव दिएको छ ।

कार्यालयका अनुसार समस्या देखिएका पसललाई सुधारका लागि एक साताको समय दिइएको छ । तोकिएको समयभित्र सुधार नगरे पुनः अनुगमन गरी कारबाही गरिने चेतावनी दिइएको छ ।

गोपाल लामिछाने ले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि नगर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, पर्वत उद्योग वाणिज्य संघ लगायत विभिन्न निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । जिल्लाका अन्य पालिकामा पनि बजार अनुगमनलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *