काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जसअनुसार चालु आवको सुरुदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ । सुस्त आर्थिक वृद्धिदर, नियन्त्रणभित्र रहेको मुद्रास्फीति तथा उच्च विदेशी मुद्रा सञ्चितिको अवस्थालाई आधार मानेर केन्द्रीय बैंकले विद्यमान नीतिगत व्यवस्थालाई निरन्तरता दिएको हो ।
समीक्षाअनुसार विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति दुवै लक्ष्यअनुरूप रहने प्रक्षेपण गरिएको छ । यही आधारमा तेस्रो त्रैमाससम्म पनि अर्थतन्त्रलाई सहजीकरण गर्ने नीति कायम राखिएको राष्ट्र बैंकले जनाएको छ ।
यसबीच केन्द्रीय बैंकले नीतिगत दर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) मा कुनै परिवर्तन नगरी हालकै व्यवस्था कायम राखेको छ । यद्यपि, ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधाको व्यवस्थालाई पुनरवलोकन गरिने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशतमा सीमित रहेको छ, जुन केन्द्रीय बैंकले तय गरेको ५ प्रतिशतको लक्ष्यभन्दा निकै तल हो । यद्यपि, २०८२ चैत महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति भने ४.४७ प्रतिशत पुगेको छ ।
त्यसैगरी, राष्ट्रिय तथ्याङ्क कार्यालय को प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने जनाएको छ । कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत, उद्योग क्षेत्रको १.६७ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धिदर ४.२१ प्रतिशत रहने अनुमान गरिएको छ ।
समीक्षाअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत अवस्थामा रहेको छ । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
उच्च रेमिट्यान्स वृद्धिकै कारण चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा पुगेको छ । फलस्वरूप विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च स्तरमा पुगेर ३४ खर्ब ९४ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ, जुन केन्द्रीय बैंकको न्यूनतम ७ महिनाको लक्ष्यभन्दा निकै माथि हो ।
यस अवधिमा कुल वस्तु निर्यात १८.५ प्रतिशतले र आयात १३.८ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता पर्याप्त रहेको जनाएको छ । २०८२ चैतसम्म वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४० प्रतिशत, विकास बैंकहरूको ३.७७ प्रतिशत तथा वित्त कम्पनीहरूको ४.७४ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर घटेर ६.७७ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भएको छ । तर, लामो समयसम्म प्रणालीमा अत्यधिक तरलता रहिरहँदा त्यसले समष्टिगत आर्थिक परिसूचकमा पार्न सक्ने प्रभावप्रति केन्द्रीय बैंक सजग रहेको पनि समीक्षामा उल्लेख गरिएको छ ।






