पृथ्वी राजमार्गका ऐतिहासिक सम्पदा पुनर्निर्माण गरिँदै, २ करोड बजेट

तनहुँ — पृथ्वी राजमार्ग विस्तारसँगै तनहुँ खण्डमा सडक सीमाभित्र परेका ऐतिहासिक तथा धार्मिक सम्पदाको पुनर्निर्माण कार्यले तीव्रता पाएको छ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) को निर्माण सम्पन्न भएपछि आयोजनाले मठमन्दिर, पाटीपौवा र सांस्कृतिक संरचनाको पुनःनिर्माणलाई प्राथमिकतामा राखेको हो।

पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार सडक विस्तारका क्रममा प्रभावित भएका सम्पदाको मौलिक स्वरूप जोगाउन करिब दुई करोड रुपैयाँ विनियोजन गरिएको थियो।

सोही बजेटबाट अधिकांश धार्मिक तथा सांस्कृतिक संरचनाको पुनर्निर्माण भइरहेको उनले बताए।

उनका अनुसार व्यास नगरपालिका–१२ घाँसीकुवास्थित ऐतिहासिक भानु–घाँसी पार्क र कुवाको पुनर्निर्माणका लागि पनि तयारी अघि बढाइएको छ।

पार्क संरक्षण समितिले तयार पारेको करिब तीन करोड रुपैयाँको गुरुयोजनाअनुसार निर्माण प्रक्रिया अगाडि बढाइएको हो।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीसँग जोडिएको ऐतिहासिक प्रसंग बोकेको उक्त स्थललाई पर्यटकीय तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

एसियाली विकास बैंक (एडिबी) को करिब ६ अर्ब ३१ करोड रुपैयाँ लागतमा स्तरोन्नति गरिएको ४१ किलोमिटर सडक खण्डको निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

सडक कालोपत्रे, लेन मार्किङ तथा अन्य प्राविधिक काम सकिएपछि अहिले सडक किनार क्षेत्रका संरचना र सम्पदा व्यवस्थित गर्ने काम भइरहेको हो।

२०७७ माघमा ठेक्का सम्झौता भई सुरु भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजना पृथ्वी राजमार्गको नमुना विस्तार योजनाका रूपमा हेरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *