काठमाडौं । सरकारले यस वर्ष मनसुनजन्य विपद्का कारण देशभर ५१ हजारभन्दा बढी घरधुरी प्रभावित हुने अनुमान गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति को ३४औँ बैठकले स्वीकृत गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अनुसार बाढी, पहिरो र निरन्तर वर्षाका कारण ५१ हजार ८६८ घरधुरीका करिब २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुन सक्ने आकलन गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का सहसचिव अमृत श्रेष्ठ ले मौसम पूर्वानुमान र पूर्वकार्यमा लगानी बढाउँदा विपद्पछिको क्षति तथा पीडा कम गर्न सकिने भएकाले सरकारले पूर्वतयारीलाई प्राथमिकतामा राखेको बताए ।
सुनील लम्साल को अध्यक्षतामा बसेको बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।
बैठकले ‘खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३’ संशोधनसहित पारित गरेको छ ।
साथै ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’, ‘पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३’ तथा ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१’ का केही प्रावधान संशोधनसहित स्वीकृत गरिएको छ ।






