काठमाडौं। भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरेको छ।
महावाणिज्य दूतावासका अनुसार कार्यक्रममा व्यापार, पारवहन, ढुवानी, सम्पर्क सञ्जाल तथा लगानीका क्षेत्रमा नेपाल–भारत सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
छलफलमा नेपालको व्यापार तथा पारवहन संरचना, लगानीका सम्भावना र द्विपक्षीय आर्थिक सहकार्य सुदृढ गर्ने प्रयासबारे पनि विमर्श गरिएको दूतावासले जनाएको छ।
कार्यक्रममा श्यामाप्रसाद मुखर्जी बन्दरगाह, कोलकाताका अध्यक्ष राजेन्द्र रमनसहित वरिष्ठ अधिकारी, कोलकाता भन्सार कार्यालयका प्रतिनिधि, जल यातायात तथा ढुवानी सेवा प्रदायक, कस्टम्स हाउस एजेन्ट्स एसोसिएसनका प्रतिनिधि, आयातकर्ता, निर्यातकर्ता, लगानीकर्ता, नेपाली व्यवसायी, सञ्चारकर्मी तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
श्यामाप्रसाद मुखर्जी बन्दरगाहका ट्राफिक प्रबन्धक रविशंकर राजहंसले बन्दरगाहमा उपलब्ध सुविधा, पूर्वाधार विकास तथा नेपालतर्फ जाने मालसामानको ढुवानी सहज बनाउन अपनाइएका उपायबारे जानकारी दिएका थिए।
सहभागीहरूले व्यापार सहजीकरण, भन्सार समन्वय, ढुवानी व्यवस्थापन, सम्पर्क सञ्जाल विस्तार र लगानी प्रवर्द्धनका विषयमा सुझाव राखेका थिए। कार्यक्रममा उठाइएका जिज्ञासा र समस्याबारे महावाणिज्यदूत झक्कप्रसाद आचार्यले जवाफ दिएका थिए।
आचार्यले नेपाल–भारतबीच व्यापार सहजीकरण, सम्पर्क सञ्जाल विस्तार तथा आर्थिक सहकार्य प्रवर्द्धनका लागि महावाणिज्य दूतावासले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।






