काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४१ प्रतिशतले नाफा वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घटेसँगै नाफामा सकारात्मक प्रभाव देखिएको हो । कम्पनीको बिक्री आम्दानी गत आव तेस्रो त्रैमाससम्म २ अर्ब १४ करोड रहेकोमा यो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३३ करोड रुपैयाँ छ ।
त्यस्तै घट्दो बैंक ब्याजदरका कारण कम्पनीको वित्तीय लागत घटेको छ । वित्तीय लागत गत आव तेस्रो त्रैमाससम्म ६२ करोड ९८ लाख रुपैयाँ रहेकोमा यो आवको सोही अवधिमा ४५ करोड २ लाख रुपैयाँमा झरेको छ ।
यसले कम्पनीको खुद नाफा बढाउन टेवा पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३४.४८ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७६.७४ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ६३५ रुपैयाँ हाराहारीमा छ ।






