काठमाडौँ । चलचित्र लालीबजार प्रदर्शनको बाटो खुलेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो ।
रोशनी नेपालीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् । मुद्दामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतलाई विपक्षी बनाइएको छ ।
१८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो।
निवेदक रोशनी नेपालीले चलचित्रको केही दृश्य र संवादमा ‘वादी’ शब्दको प्रयोग गरी उक्त समुदायलाई लक्षित गरेर नकारात्मक भूमिकामा चित्रण गरिएको र ‘राजासाहेवको चढाउने प्रसाद, राजाको सामान’ जस्ता अपमानजनक शब्दहरू प्रयोग गरिएको दाबी गर्दै रिट दायर गरेकी थिइन् । यसले वादी समुदायको आत्मसम्मानमा चोट पुग्ने जिकिर गरिएको थियो ।






