काठमाडौं । दक्षिण अफ्रिकामा दुर्लभ हान्टाभाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा बसेका छन् । अर्जेन्टिनाबाट क्यानरी टापुतर्फ जाँदै गरेको ‘होन्डियस’ क्रुज जहाजमा देखिएको संक्रमणका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन् ।

१४७ यात्रु तथा चालक दल सदस्य बोकेको उक्त जहाज हाल केप भर्ड नजिक क्वारेन्टाइनमा राखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) र युरोपेली संघको अनुरोधमा स्पेनले जहाजलाई क्यानरी टापुमा ल्याएर व्यवस्थापन गर्ने जनाएको छ ।

संक्रमितमध्ये एक जनाको जोहानेसबर्गस्थित ओआर टाम्बो अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्दा मृत्यु भएको थियो भने एक बेलायती नागरिकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । चिकित्सकहरूका अनुसार यो भाइरसले फोक्सोमा असर पार्दै ‘लिकी क्यापिलरी’ अवस्था सिर्जना गर्ने भएकाले श्वासप्रश्वासमा गम्भीर समस्या उत्पन्न हुन्छ ।

हान्टाभाइरस सामान्यतः संक्रमित मुसा वा अन्य कृन्तक जनावरको फोहोरसँग सम्पर्कमा आउँदा सर्ने दुर्लभ तर खतरनाक संक्रमण हो । विशेषज्ञहरूले यसले मानिसबाट मानिसमा सजिलै सर्ने सम्भावना कम रहेको बताएका छन् ।

दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्री आरोन मोट्सोअलेदीले सम्भावित संक्रमितहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) भइरहेको जानकारी दिएका छन् । यसका लागि विश्व स्वास्थ्य संगठनसँग सहकार्य भइरहेको छ ।

अधिकारीहरूले जनतालाई अनावश्यक त्रास नमान्न आग्रह गर्दै सावधानी अपनाउन भने आग्रह गरेका छन् ।