‘नबिल निःशुल्क जलन शिविर’ मा १५० जनाले लिए सेवा

वीरगञ्ज । नबिल बैंकको पहलमा नारायणी अस्पताल मा सञ्चालन गरिएको ‘निःशुल्क जलन उपचार शिविर’बाट १५० जनाभन्दा बढीले परामर्श तथा उपचार सेवा लिएका छन् । अस्पताल, बैंक र फेक्ट नेपाल को सहकार्यमा वैशाख १७ देखि २० गतेसम्म शिविर सञ्चालन गरिएको हो ।

शिविरका क्रममा ४६ जना बिरामीको विशेषज्ञ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । तीमध्ये जटिल अवस्थाका ६ जनालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल मा रिफर गरिएको छ ।

यसअघि शिविरको तयारीस्वरूप मधेश प्रदेशका ६ जिल्लाका २७ पालिकामा स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको थियो । ती क्याम्पमार्फत स्थानीय तहमा पुगेर स्वास्थ्यकर्मीहरूले बिरामीको प्रारम्भिक विवरण संकलन गरेका थिए ।

शिविरबारे जानकारी दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली ले नेपालमा जलनसम्बन्धी उपचार अझै पनि पहुँचबाहिर रहेको उल्लेख गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका पीडितलाई लक्षित गरी यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए ।

शिविरमा डा. शंकरमान राई सहित विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिएको थियो । उनका अनुसार चार दिनको अवधिमा अपेक्षाभन्दा बढी बिरामीलाई सेवा दिन सफल भएको अनुभव भएको छ । साथै, भविष्यमा यस्ता उपचार सेवा नारायणी अस्पतालमै नियमित रूपमा उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाई छ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाह ले जलनका कारण दीर्घकालदेखि समस्या झेलिरहेका बिरामीहरू उपचारपछि सहज जीवनतर्फ फर्किन थालेको भन्दै शिविर प्रभावकारी भएको बताए ।

नबिल बैंकले यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा समेत यस्ता शिविर सञ्चालन गरिसकेको छ । आगामी वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यस्तै निःशुल्क जलन उपचार शिविर सञ्चालन गर्ने तयारी गरिएको बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *