काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित उक्त अन्तरक्रियामा रास्वपाका सभापति लामिछानेसहित प्रतिनिधिसभा सदस्यहरू गणेश पराजुली र विदुषी राणा पनि सहभागी थिए।
कार्यक्रममा उद्योगी–व्यवसायीहरूले मुलुकको अर्थतन्त्र, लगानीको वातावरण, कर प्रणाली, उद्योग सञ्चालनमा देखिएका समस्या र निजी क्षेत्रका अपेक्षाबारे धारणा राखेका थिए।
अन्तरक्रियामा निजी क्षेत्रका प्रमुख संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
जसमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्रा लगायत विभिन्न उद्योगी–व्यवसायीहरूको सहभागिता थियो।
कार्यक्रममा निजी क्षेत्रले हाल देखिएका आर्थिक सुस्तता, लगानी घट्दो अवस्था, नीति–नियमको जटिलता तथा उद्योग सञ्चालनमा देखिएका प्रशासनिक झन्झटबारे ध्यानाकर्षण गराएका थिए।
उनीहरूले उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने नीति, स्थिर आर्थिक वातावरण र सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
सभापति लामिछानेले निजी क्षेत्र अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै उद्योग–व्यवसायमैत्री नीति निर्माणमा आफ्नो पार्टी सकारात्मक रहेको बताएका थिए।
उनले निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधान, लगानी वृद्धि र आर्थिक सुधारका विषयमा खुला छलफल भएको बताइएको छ।







