काठमाडौं । काठमाडौंको न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त पसलले बिक्री गर्ने खाद्य वस्तुमा साङ्लो (किरा) भेटिएपछि महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले सो कारबाही गरेको हो ।
वैशाख १६ गते एक उपभोक्ताले उक्त पसलबाट खरिद गरेको खाद्य सामग्रीमा साङ्लो भेटिएको भन्दै उजुरी दिएका थिए। उजुरीकर्ताले प्रमाणका रूपमा फोटो तथा भिडियो समेत पेश गरेका थिए।
प्राप्त प्रमाणहरूको अध्ययन र अनुसन्धानपछि खाद्य वस्तुमा साङ्लोजस्तो देखिने किट रहेको पुष्टि भएको महानगरको कृषि तथा पशुपन्छी विभागले जनाएको छ।
विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार उक्त व्यवसायलाई ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ भने आगामी दिनमा यस्तो लापरबाही नदोहोर्याउन निर्देशन समेत दिइएको छ।
Artha Sanjal







