काठमाडौं — नबिल बैंक लिमिटेडले कृषि क्षेत्रमा संलग्न जनशक्तिलाई लक्षित गर्दै देशका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ। तालिमको सुरुवात कर्णाली प्रदेशअन्तर्गत सिँजा गाउँपालिकामा वैशाख ९ गतेदेखि गरिएको बैंकले जनाएको छ।
चालु आर्थिक वर्षभित्र कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहसँग सहकार्य गर्दै थप १५ स्थानमा तालिम सञ्चालन गरिनेछ। करिब पाँच सय कृषिमा आधारित व्यवसाय गरिरहेका तथा गर्न इच्छुक व्यक्तिलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको बैंकले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा तथा लगानीका विकल्पबारे व्यवहारिक ज्ञान प्रदान गरिनेछ। उनका अनुसार तालिमले वित्तीय साक्षरता अभिवृद्धि गर्दै बेरोजगारी न्यूनीकरण, उद्यमशीलता विकास र दिगो आर्थिक वृद्धि प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य राखेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ। तालिममा सहभागीलाई बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ तथा तरकारी खेतीजस्ता क्षेत्रमा प्राविधिक ज्ञानसँगै व्यवसायिक अवसर पहिचान, बजारीकरण र वित्तीय व्यवस्थापनसम्बन्धी सीप प्रदान गरिनेछ।
नबिल बैंकले दिगो बैंकिङ अवधारणालाई आत्मसात गर्दै वातावरणमैत्री तथा सामाजिक रूपमा जिम्मेवार लगानीलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।






