काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा विद्यार्थीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्नेगरी उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन्।
पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा उनले युवालाई उद्यमशीलतामा लाग्न अनुरोध गरे। मन्त्री पोखरेलले भने, “हामीले प्राप्त गरेको ज्ञान, सीप र विवेकको सही सदुुपयोग गर्यौँ भने मात्र हामी सबै मिलेर नेपाललाई सबल, सक्षम र समृद्धशील राष्ट्र बनाउन सक्छौँ ।”
पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको करिब तीन दशकमा नेपालको विकास र समृद्धिमा आवश्यक उल्लेख्य दक्ष जनशक्ति उत्पादन गर्न सफल भएकामा धन्यवाद व्यक्त गर्दै मन्त्री पोखरेलले वर्तमान अवस्थामा नेपाल सरकारले गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी बनाउने दिशामा महत्त्वपूर्ण कदम चालिरहेको समेत बताए।
आयोजित दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने छ हजार ७०६ विद्यार्थी दीक्षित भएका हुनुभएको छ । जसमध्ये विभिन्न सङ्कायमा उत्कृष्ट अङ्क ल्याउने २१ जना विद्यार्थीलाई मन्त्री पोखरेलद्वारा स्वर्ण पदकसहित प्रमाणपत्र वितरण गरेका थिए।






