वीरगन्ज ।वीरगन्ज भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरका वस्तु आयात भएको छ।
कार्यालयका अनुसार यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० अर्ब ४४ करोड रुपैयाँ, अर्थात् करिब १३ प्रतिशतले बढी हो। गत आवको नौ महिनामा ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका थिए।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा यस नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि देखिएको छ।
यस अवधिमा पेट्रोलियम पदार्थको आयात पनि बढेको छ। चालु आवको नौ महिनामा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन्।
गत आवको सोही अवधिमा भने १ खर्ब ४० अर्ब १० करोड रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ भित्रिएका थिए।
यस्तै, फलाम तथा फलामजन्य सामग्रीको आयात पनि बढेको छ। चालु आवको नौ महिनामा ६२ अर्ब २६ करोड रुपैयाँ बराबरका यस्ता सामग्री आयात भएका छन्, जबकि गत आवको सोही अवधिमा ५५ अर्ब ९ करोड रुपैयाँ बराबरका सामग्री आयात भएका थिए।






