काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने जानकारी सचिव दिनेश थापामगरले दिएका छन्।
अनुशासन समितिले पार्टीको १४औँ महाधिवेशनको नाममा कार्यवाहक सभापति भन्दै पार्टीको निर्णयविपरीत लेटरहेड प्रयोग गरी विज्ञप्ति जारी गरेको आरोपमा पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण मागेको थियो।
तर आइतबार सभापति गगन थापाले खड्कासँग भेट गरेपछि उनीमाथि अनुशासनात्मक कारबाही नहुने सम्भावनाबारे चर्चा सुरु भएको छ।
समितिले खड्काविरुद्ध विधानअनुसार कारबाही प्रक्रिया अघि बढाइरहेकै अवस्थामा सभापति थापा र खड्काबीच भेटवार्ता भएको हो।
केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा रहेको समितिले वैशाख २ गते अस्तित्वमै नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
यद्यपि सभापति थापाले आइतबारको भेटपछि पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै एकता सुदृढ गर्ने प्रयासमा आफू लागिरहेको बताएका छन्।
उता, तोकिएको समयभित्र स्पष्टीकरण नआएमा विधानअनुसार कारबाही प्रक्रिया अघि बढाइने समिति संयोजक गुरुङले जनाएका छन्।






