११० मेगावाटको दूधकोसी पाँचौं निर्माण हुने, १९ अर्ब लागत

सोलुखुम्बु ।सोलुखुम्बुको दूधकोसी नदी मा ११० मेगावाट क्षमताको ‘दूधकोसी पाँचौँ’ जलविद्युत् आयोजना निर्माण प्रस्ताव गरिएको छ।

माप्य दूधकोसी गाउँपालिका–२, ३, ४, ६ र ७ क्षेत्रमा आयोजना पर्ने गरी योजना अघि बढाइएको हो।

विद्युत्गृह माप्य दूधकोसी–४ स्थित काँकुखोला र दूधकोसी नदीको संगमबाट करिब ७३० मिटर माथि रहने जनाइएको छ।

आयोजना सम्पन्न भएपछि वार्षिक ६१७.८६ गिगावाट घन्टा विद्युत् उत्पादन हुने र राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरिनेछ।

निर्माण अवधिमा करिब ५६५ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ, जसमा दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति समावेश छन्।

विद्युत् विकास विभाग ले आयोजनालाई अर्ध–जलाशययुक्त स्वरूपमा निर्माण गर्न सहमति दिइसकेको छ। इन्डेपेन्डेन्ट पावर कम्पनी नेपाल ले आयोजना प्रवर्द्धन गर्नेछ।

यसअघि नदी प्रवाही स्वरूपमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिएको भए पनि संरचना परिवर्तनसँगै पूरक ईआईए प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइएको छ।

वन तथा वातावरण मन्त्रालय ले यससम्बन्धी सुझाव माग गरेको छ।

आयोजनाको ग्रस हेड २३७.९ मिटर र नेट हेड २२२.३ मिटर रहनेछ। संरचना निर्माणका लागि करिब २५.२८ हेक्टर सामुदायिक वन क्षेत्र प्रयोग हुने र २ हजार ४५९ वटा रुख कटान गर्नुपर्ने अनुमान गरिएको छ।

उत्पादित विद्युत् दोलखास्थित नयाँ खिम्ती सबस्टेशन मा जोडिनेछ। आयोजनाको कुल लागत करिब १९ अर्ब ११ करोड रुपैयाँ रहने र पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *