काठमाडौं । नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघेको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमासिक अवधि (साउन–चैत) सम्म सरकारले तिर्न बाँकी ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड ४६ लाख पुगेको हो ।
साउन १ गतेसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। चैत मसान्तसम्म आइपुग्दा विनिमय दरमा भएको नोक्सानीसहित कुल ऋणमा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ थप वृद्धि भएको हो । बढेको यस ऋणसँगै अब नेपालको कुल सार्वजनिक ऋण देशको कुल गार्हस्थ्य उत्पादनको झन्डै आधा अर्थात् ४८.०४ प्रतिशत पुगेको छ ।
कुल सार्वजनिक ऋणमध्ये बाह्य (वैदेशिक) ऋणको हिस्सा बढी छ । १५ खर्ब ४५ अर्ब ६७ करोड रुपैयाँ अर्थात् कुल ऋणको ५२.६९ प्रतिशत र जीडीपीको २५.३१ प्रतिशत हो ।
त्यस्तै, आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब ११ करोड रुपैयाँ छ जुन कुल ऋणको ४७.३१ प्रतिशत र जीडीपीको २२.७३ प्रतिशत हो ।
यो ऋणलाई नेपालको जनसंख्या अनुसार प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको टाउकोमा १ लाख ५ सय ९४ सार्वजनिक ऋण पुगेको छ ।
सार्वजनिक ऋणलाई नेपालको पछिल्लो जनगणना २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मा भाग लगाउँदा प्रतिव्यक्ति ऋणभार यति देखिएको हो । नेपालको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋण हिस्सा ५२.६९ प्रतिशत र आन्तरिक ऋण हिस्सा ४७.३१ प्रतिशत छ ।
सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८.४५ प्रतिशत अर्थात् ३ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ मात्र ऋण प्राप्ति भएको छ।
यस अवधिमा सरकारले आन्तरिकतर्फ २ खर्ब ८३ अर्ब ६६ करोड र बाह्यतर्फ ६४ अर्ब ४८ करोड रुपैयाँ ऋण लिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
सरकारले लिएको ऋणमध्ये अधिकांश रकम यसअघि लिइएको ऋणको साँवा र ब्याज भुक्तानीमा ठुलो रकम खर्च भएको छ । चालु आर्थिक वर्षमा साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएकोमा चैत मसान्तसम्ममै २ खर्ब ५८ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो कुल विनियोजित बजेटको ६२.८८ प्रतिशत हो।
कुल भुक्तानी भएको रकममध्ये आन्तरिक ऋणको साँवा–ब्याजवापत २ खर्ब ९ अर्ब ३८ करोड र बाह्य ऋणबापत ४९ अर्ब ६ करोड रुपैयाँ बुझाइएको छ।






