काठमाडौं — सडक विभाग ले चालू आर्थिक वर्षको पहिलो नौ महिनामा २ हजार २ सय ३३.८० किलोमिटर सडक निर्माण तथा स्तरोन्नति सम्पन्न गरेको जनाएको छ।
विभागले चालू वर्षमा ७ हजार ५५ किलोमिटर सडक निर्माण, कालोपत्रे, मर्मत र स्तरोन्नतिका काम गर्ने लक्ष्य लिएको भए पनि हालसम्मको भौतिक प्रगति अपेक्षाभन्दा कम देखिएको छ।
दुई लेन कालोपत्रे सडकतर्फ ८ सय किलोमिटर लक्ष्यमा ३४८.१६ किलोमिटर निर्माण भएको छ भने चार लेन वा सोभन्दा बढी क्षमताको सडकतर्फ १०९ किलोमिटर लक्ष्यमा ७१.३६ किलोमिटर काम सम्पन्न भएको छ। कंक्रिट (रिजिड पेभमेन्ट) सडकतर्फ ५० किलोमिटर लक्ष्यमा ४४.८० किलोमिटर निर्माण गरिएको छ।
ग्राभेल र माटे सडकतर्फ भने लक्ष्यभन्दा बढी प्रगति भएको विभागको तथ्यांक छ। ग्राभेल सडक ३० किलोमिटर लक्ष्यमा ६९.१६ किलोमिटर र माटे सडक तथा ट्रयाक ५२ किलोमिटर लक्ष्यमा ७४.५० किलोमिटर निर्माण गरिएको छ।
राजमार्ग मर्मततर्फ ५०६ किलोमिटर लक्ष्यमा ४९.४० किलोमिटर मात्र प्रगति भएको छ भने पुनर्निर्माण तथा स्तरोन्नतितर्फ ५० किलोमिटर लक्ष्यमा ४२.५० किलोमिटर काम सम्पन्न भएको छ।
पुल निर्माणतर्फ १६२ को लक्ष्यमा ५२ वटा पुल सम्पन्न भएका छन् भने ५ वटा बेली ब्रिजमध्ये ३ वटा जडान भइसकेका छन्। क्र्यास ब्यारियर जडानमा लक्ष्यभन्दा बढी प्रगति भए पनि पोटहोल मर्मततर्फ भने लक्ष्यको करिब २८ प्रतिशत मात्र काम भएको छ।
विभागका प्रवक्ता श्यामबहादुर खड्का का अनुसार नाली, सब–बेस र बेस कोर्स तयारीजस्ता प्रारम्भिक काम भौतिक प्रगतिमा नजोडिने भएकाले प्रगति कम देखिएको हो। “अधिकांश सडकमा कालोपत्रे अन्तिम चरणमा पुगेको छ,” उनले भने।
पूर्वाधारविज्ञ अर्जुनजंग थापा का अनुसार बजेट रोक्का, प्रशासनिक प्रक्रिया र प्राथमिकता परिवर्तनका कारण पूर्वाधार निर्माणले अपेक्षित गति लिन सकेको छैन।
विभागले भने चालू आर्थिक वर्षभित्रै लक्ष्यअनुसार प्रगति हासिल गर्ने दाबी गरेको छ।






